Tuesday, 27 September 2016

राष्ट्रसंघ महासभामा भारत–पाकिस्तान जुहारी

संयुक्त राष्ट्र संघमा पाकिस्तानकी प्रतिनिधि मलिहा लोधीले संयुक्त राष्ट्र महासभामा भारतीय विदेशमन्त्री सुषमा स्वराजले दिएको भाषणलाई ‘झूठको मुठो’ को संज्ञा दिएकी छन् ।

स्वराजको भाषणपछि लोधीले भनिन् ‘ सबैभन्दा ठूलो झूठ त यो हो कि काश्मिर भारतको अभिभाज्य अंग हो ।’ लोधीको भनाइको जवाफ दिदै संयुक्त राष्ट्र संघका लागि भारतका प्रतिनिधि इनम गंभीरले दोहोर्याए ‘काश्मिर भारतको अभिभाज्य अंग हो र सधैं रहिरहने छ ।’

स्वराजले काश्मिरको कुरा उठाउदै भनिन् ‘यदी पाकिस्तानले भारतको भाग खोस्न सक्छु भन्ने ठानेको छ भने त्यो कहिले पुरा हुने छैन ।’ स्वराजको यो भाषणपछि लोधीले आफ्नो ट्वीटर ह्याडलमा लेखिन् ‘ काश्मिर विषयको विवादले संयुक्त राष्ट्र संघमा मान्यता पाएको छ । यो राष्ट्र संघकै एजेण्डामध्ये सबैभन्दा पुरानो हो ।’

लोधीले अर्को ट्वीट लेख्दै फेरि भनिन् ‘ स्वराजको दोश्रो झूठ यो हो कि उनले काश्मिरमा मानव अधिकारको उल्लंघन भएको छैन भनिन् । जबकी त्यहाँ भएको मानव अधिकारको उल्लंघन राष्ट्र संघको दस्तावेजमा दर्ज छ ।’

भारतीय विदेशमन्त्रीले आफ्नो भाषणमा बलोचिस्तानको मुद्दा उठाएकामा आपत्ति जनाउदै लोधीले बलोचिस्तानको समस्या पाकिस्तानको आतंरिक मामला भएको बताइन् । उनले लेखेकी छन् ‘अर्काको आतंरिक मामलामा हस्तक्षेप गर्नु राष्ट्र संघको वडापत्र, सिद्धान्त र अन्तर्राष्ट्रिय नियमहरूको उल्लंघन हो ।’

स्वराज र लोधीको यो जुहारीको अन्तर्राष्ट्रिय स्तरमा चर्चा भएको छ ।

No comments:

Post a Comment