निगमको संस्थागत विभागका अनुसार, विहीबारदेखि सुरु पहिलो उडानमा १ सय ५८ सिट सबै भरिएका थिए भने दुबईबाट शुक्रबार विहान फर्किदा १ सय ३७ यात्रु थिए । निगमको दुबई आठौं उडान गन्तव्य हो । राष्ट्रिय ध्वजाबाहक कम्पनीले सातामा तीन दिन आइतवार, मंगलबार र बिहीबार काठमाडौंबाट उडान भर्नेछ भने दुबईबाट त्यसको भोलीपल्ट सोमबार, बुधबार र शुक्रबार फर्किने उडान तालिका राखेको छ । काठमाडौंबाट राति साढे ११ बजे दुबईका लागि विमान उडने छ भने दुबईबाट उडेको उक्त विमान विहान साढे १० बजे काठमाडौं अवतरण गर्ने छ ।
काठमाडौंदेखि दुबईसम्मको उडान अवधि ४ घण्टा ४० मिनेट रहेको छ । त्यसैगरी दुबईबाट काठमाडौं फर्किदा ४ घण्टा १५ मिनेटको उडान अवधि छ । यो रुटमा दुई सेट पाइलट राखिएका छन् । निगमको सगरमाथा नामको एयरबस उडाएर क्याप्टेनहरु आरपी ढकाल र श्रवण रिजाल विहीबार दुबई पुगेका थिए भने उताबाट सुवाष रिजाल र विजय लामाले विमान ल्याएका थिए ।
निगमले काठमाडौं–दुबई–काठमाडौं उडानबाट बैदेशिक रोजगारीमा जाने नेपाली र तेस्रो मुलुकबाट नेपाल घुम्न आउने पर्यटकलाई लक्षित गरेको छ । निगमले यस रुटबाट एक वर्षमा ४० हजार ५ सय २८ यात्रुलाई सेवा दिने लक्ष्य राखेको छ । यसबाट मात्रै करिब १ अर्ब रुपैयाँ आम्दानी हुने अनुमान छ ।
अहिले निगमका दुईवटा एयरबस ए–३२० र एउटा बोइङ्ग–७५७ बाट हङकङ, मलेसियाको क्वालालम्पुर, थाइल्याण्डको बैंकक, भारतको नयाँदिल्ली, बैंगलोर, मुम्वई र कतारको राजधानी दोहामा उडान भर्दै आएको छ । डेढ वर्ष यता भारतको राजधानी नयाँदिल्ली, मुम्बई र बैङलोरमा उडान सुचारु गरेको थियो ।
No comments:
Post a Comment