काठमाडौं, १० असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमण गराउन आवश्यक पर्ने गृहकार्य नेपाली पक्षले गर्न सकेको छैन् ।तत्कालिन केपी ओली नेतृत्वको सरकारले चिनियाँ राष्ट्रपति नेपाल आउने वातावरण तयार पारेपनि भारतको शुभेच्छामा बनेको अहिलेको प्रचण्ड सरकारले भ्रमणको कुनै तयारी नगर्दा भ्रमण नहुने देखिएको छ ।
सीको भ्रमण स्थगित भएको भन्ने समाचारको नेपाल र चीन दुवैले खण्डन गरेका भए पनि नेपालले गर्नुपर्ने तयारी पनि गरेको छैन ।
‘चीनसँग भएका पछिल्ला सन्धिसम्झौता कार्यान्वयनका प्रयास न अघिल्लो सरकारले अघि बढायो न अहिलेकोले तयारी गरेको छ,’ परराष्ट्रका एक अधिकारीले भने । यसअघि भएका सम्झौताको प्रोटोकल तयार गर्नेदेखि दुईपक्षीय बैठक बस्नेसम्मका कुनै पनि काम अघि नबढ्नुको अर्थ नेपालका तर्फबाट तयारी नै नहुनु रहेको उनले बताए ।
परराष्ट्र सचिव शंकरदास बैरागीलाई चीनसँगको सम्झौता अघि बढाउने र ‘फलो’ गर्ने जिम्मेवारी अघिल्लो (ओली) सरकारले दिएको थियो । तर, चिनियाँ राष्ट्रपतिको सम्भावित भ्रमण तिथि नजिकिँदै गर्दा सचिव बैरागी नै काठमाडौंमा छैनन् ।
परराष्ट्रमन्त्रीसँगै न्युयोर्क पुगेका उनी त्यसपछि ब्रसेल्स भ्रमणको तयारीमा छन् । सामान्य कूटनीतिक अभ्यासमा परराष्ट्रमन्त्री र परराष्ट्र सचिव विशेष परिस्थितिबाहेक विदेश भ्रमणमा निस्कँदैनन् । यसबाट पनि परराष्ट्रले चिनियाँ राष्ट्रपतिको भ्रमणलाई गम्भीरतापूर्वक नलिएको देखिने प्रधानमन्त्री कार्यालयका अधिकारीले बताए ।
स्रोतका अनुसार चीनले कूटनीतिक शैलीमा असन्तुष्टि जनाउँदै भनेको छ, ‘नेपालको कूटनीतिक छलफल र गति यतिबेला व्यस्त छ । चिनियाँ डेक्स प्रमुख यतिबेला मन्त्रालयमा सचिवको कार्यभारमा व्यस्त हुन परेको अवस्था छ ।’
कान्तिपुर दैनिकमा समाचार छ ।

No comments:
Post a Comment