काठमाडौँ, २ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा भाग लिन सोमबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुहुने भएको छ ।
प्रधानमन्त्री दाहालले महासभालाई सम्बोधन गर्ने र केही उच्चस्तरीय एवम द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा उहाँकी धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा ऋषि अधिकारी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा, मुख्य सचिव डा सोमलाल सुवेदी, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, परराष्ट्र मन्त्रालयका सहसचिव एवम् संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय सङ्घ संस्था महाशाखाका प्रमुख भरतराज पौड्याल हुनुहुन्छ । टोलीमा प्रधानमन्त्रीका निजी चिकित्सक डा युवराज शर्मा पनि सहभागी हुनुहुनेछ ।
यस्तै, परराष्ट्र मन्त्रालयका क्षेत्रीय सङ्गठन महाशाखाका सहसचिव मणिप्रसाद भट्टराई, प्रधानमन्त्रीका स्वकीय सचिव साकार दाहाल, प्रधानमन्त्रीका दुई सुरक्षा अधिकृत पनि सो टोलीमा सहभागी हुनुहुनेछ । प्रतिनिधिमण्डलमा राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्की र त्यहाँका उच्च अधिकारीसमेत सहभागी हुनुहुनेछ ।
यस्तै, राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन, रेडियो नेपालमा कार्यरत सञ्चारकर्मीको टोली प्रधानमन्त्रीसँगै न्यूूयोर्क प्रस्थान गर्नेछन् । न्यूयोर्कमा रहँदा प्रधानमन्त्री दाहालले छिमेकी तथा मित्रराष्ट्रका सरकार एवम् राष्ट्र प्रमुखसँग आपसी हित र चासोका विषयमा कुराकानी गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घका महासचिव वान किमुनसँग विशेष भेटवार्ता गर्नुहुनेछ । प्रधानमन्त्रीले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घका महासचिव वानले आयोजना गर्ने विशेष समारोहमा मन्तव्य दिनुहुनेछ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री दाहालले महासभामा भाग लिने सरकार तथा राष्ट्रप्रमुखको सम्मानमा महासचिव वान र अमेरिकी राष्ट्रपति बाराक ओवामाले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनुहुनेछ ।
महासभाको अवसर पारेर दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री डा महत सहभागी हुनुहुनेछ । सोही अवसरमा परराष्ट्रमन्त्री डा महतले छिमेकी राष्ट्रका विदेशमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
नेपाली प्रतिनिधिमण्डलले न्युयोर्कमा रहँदा त्यहाँ आयोजना हुने नेपाललाई चासो भएका अति कमविकसित, विकासशील, जी–७७ तथा अन्य साझेदारसँग दिगो विकास लक्ष्यपछिका विकास एवम् जलवायु परिवर्तनलगायतका विषयमा विभिन्न तहमा छलफल गर्ने र अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ ।
महासभामा नेपालले जलवायु परिवर्तन, आतङ्कवाद र अल्पविकसित तथा भू–परिवेष्ठित मुलुकका मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । मन्त्रिपरिषद्को गत भदौ २३ गतेको बैठकले प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमणलाई स्वीकृत गरिसकेको छ ।
जलवायु परिवर्तनको असरबाट नेपाललगायतका मुलुकले भोग्नुपरेको समस्या, हिमालय पर्वतदेखि तटीय क्षेत्रका मुलुकसम्म आइपरेको समस्या र त्यसबाट आइपर्नसक्ने सम्भावित क्षतिलाई रोक्न अन्तर्राष्ट्रिय समुदायको चासो र चिन्तासहितको एकीकृत कार्यक्रमका पक्षमा आफ्नो धारणा राख्ने तयारी गरिएको छ ।
विश्व शान्ति स्थापनामा नेपालले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनामा खेलेको भूमिका र राम्रो सम्बन्धका कारण पनि अल्पविकसित मुलुकका मुद्दा नेपालको प्राथमिकतामा पर्ने विश्वास लिइएको छ । नेपालले विगत साढे पाँच दशकदेखि विश्व शान्ति स्थापना कार्यमा ४० भन्दा बढी मुलुकमा खटिएर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
मानवअधिकार, सामाजिक र आर्थिक विकास तथा आतङ्कवादका विरुद्धमा राष्ट्रसङ्घले खेल्दै आएको भूमिकाप्रति सन्तोष व्यक्त गर्दै नेपालले आफ्नो धारणालाई विश्व समुदाय समक्ष आफूलाई उभ्याउँदै आएको छ ।
गत वर्ष नेपालले संविधानसभामार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेको र शान्ति प्रक्रियाका धेरै काम सम्पन्न गरिसकेको र केही काममात्रै बाँकी रहेका सन्दर्भमा महासभामा यसपटकको नेपाली सहभागिता अर्थपूर्ण एवम् महत्वपूर्ण रहेको छ ।
नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन संयुक्त राष्ट्रसङ्घले खेलेको भूमिका तथा विश्व शान्ति स्थापनामा पु¥याएको योगदान पनि उल्लेखनीय रहेको छ ।
गत ७०औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंह सहभागी हुनुभएको थियो भने त्यसअघि ६९औँ महासभामा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको २२ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको थियो ।
महासभामा सहभागी हुन परराष्ट्रमन्त्री डा महत आज बिहानै भारतको राजधानी नयाँ दिल्लीबाटै न्युयोर्क प्रस्थान गरिसक्नुभएको छ । प्रधानमन्त्री दाहालसँगै भारत भ्रमणमा रहनुभएका मन्त्री महत दिल्लीको औपचारिक भेटवार्ता सकिएपछि आज बिहानै न्युयोर्क प्रस्थान गर्नुभएको हो । न्युयोर्कमा गत मंगलबार सुरु भएको महासभा १० दिनसम्म चल्नेछ ।
No comments:
Post a Comment