Sunday, 4 September 2016

कुटनीतिक सम्मान नगरेको भन्दै ओबामा चीनसँग असन्तुष्ट

 कुटनीतिक सम्मान नगरेको भन्दै ओबामा चीनसँग असन्तुष्टचीनः जी–ट्वान्टी सम्‍मेलनका क्रममा चीनको हाङझाउ पुगेका बेला आफूप्रति कूटनीतिक अभद्रता’ प्रदर्शन गरिएको भन्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले असन्तुष्टि प्रकट गरेका छन् । शनिबार आफू र आफ्नो टोलीमाथि भएको व्यवहारप्रति ओबामाले असन्तुष्टि पोखेका हुन् । अमेरिकी र चिनियाँ मूल्यमान्यता फरक भएका कारण यस्तो भएको आरोप उनले लगाए ।

यसै घटनाबाट पनि चीन र अमेरिकाको मूल्यमा भएको पृथक्ता स्पष्ट भएको उनको भनाइ छ ।

शनिबार विमानस्थलमा चिनियाँ अधिकारीले अमेरिकी सञ्चारमाध्यम र अन्य अमेरिकी अधिकारीलाई सुरक्षाको कारण देखाउँदै ओबामाको विमाननजिकै जान दिएका थिएनन् ।
अमेरिकी अधिकारीले आफू ओबामासम्म पुग्न पाउनुपर्ने भन्दै आपत्ति प्रकट गरे पनि त्यो सम्भव भएको थिएन । यो अमेरिकी विमान भएको भन्दै अमेरिकी अधिकारीले त्यहाँसम्म जान पाउनुपर्ने माग राखेपछि चिनियाँ अधिकारीले उक्त विमानस्थल चीनको भएको जबाफ दिएका थिए । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुसन राइस र ह्वाइट हाउसको प्रेस हेर्ने अधिकारीमाथि पनि चिनियाँ अधिकारीले सुरक्षा जाँच गरेका थिए ।

यसै विषयलाई लिएर ओबामाले मानवअधिकार र प्रेस स्वतन्त्रताप्रतिको चिनियाँ दृष्टिकोण भन्दै व्यंग्य गरेका थिए । यो व्यवहार नै दुई देशबीच पाइने प्रेस र स्वतन्त्रताप्रतिको फरक भएको उनको भनाइ थियो । ओबामाले यो विषय बेलायती प्रधानमन्त्री टेरेसा मेसँग पनि उठाएका थिए । चीनको यस्तो व्यवहार पहिलोपटक नभएको भन्दै उनले टिप्पणी गरेका थिए ।

उनले भने, ‘हामीले गरेको कामसम्म प्रेसको निर्बाध पहुँच हुनुपर्छ । हामीले यात्राका क्रममा पनि यस्ता आदर्शको सम्मान गर्छौं ।’

अरू मुलुक यात्राका क्रममा अमेरिकी अधिकारीको सुरक्षा जाँच र ती अधिकारीलाई विशेष छुट दिइएको हुन्छ । विमानबाट उत्रनासाथ अमेरिकी राष्ट्रपतिको तस्बिर दिन त्यस्तो छुट दिइने अमेरिकी भनाइ छ ।

यसअघि ओबामाको आगमनमा समेत उनलाई नियोजित रूपले रातो कार्पेटबाट हिँड्न अमेरिकी सरकारले वञ्चित गरेको थियो । उनलाई चिनियाँ सरकारले एयरफोर्स विमानबाट ओर्लने क्रममा सिँढीको समेत व्यवस्था गरेको थिएन । जी–ट्वान्टी सम्मेलनमा पुगेका संसारभरिका अन्य १८ नेताका लागि भने चिनियाँ प्रशासनले रातो कार्पेटको व्यवस्था गरेको थियो ।
००
रूस दोषी: अमेरिका
अमेरिकाले सिरिया द्वन्द्वबारे सहमतिमा पुग्न नसक्नुमा रूस दोषी रहेको पनि आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले यसअघि सिरिया द्वन्द्व अन्त्यका लगि सहमति गर्न रूस र अमेरिका चौबीसै घन्टा लागिपरेको बताएका थिए । विश्व अर्थतन्त्रका प्रमुख २० प्रमुख अर्थतन्त्रको समूह ‘जी–ट्वान्टी’ को शिखर सम्मेलनका अमेरिकी राष्ट्रपति ओबामाले भने, ‘सिरिया द्वन्द्व समाधानमा लागि लागिपरे पनि यसलाई सल्टाउन निकै कठिन छ । यो साह्रै कठिन काम देखिएको छ ।’

अमेरिकाले सिरिया समस्या सम्बन्धमा हल भएका भनिएका मुद्दाबाट पछि हटी फेरि यसमा छलफल चलाउनुपर्ने बताएपछि अहिलेलाई सहमति प्रयास अन्त्य भएको बताए ।

राष्ट्रपति ओबामाले अमेरिकी विदेशमन्त्री जोन केरी र रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले यस विषयमा सोमबार पुनः भेट गर्ने जानकारी दिएका छन् ।

अमेरिकी विदेशमन्त्री केरीले भने, ‘हामी आज आइतबार राति केही विषयमा पुनर्विचार गर्दैछौं । यसमा एक दुई तर जटिल मुद्दाबारे पुनर्मूल्यांकन गरी सोमबार पुनः भेट्नेछौं ।’ जटिल मुद्दा के हुन् भन्नेबारे केरीले केही पनि बताएनन् ।

No comments:

Post a Comment