
शुक्रबार र शनिबार सिरियामा करिब २०० हवाई आक्रमण भएको हो। आक्रमणमा परि अधिकांश निर्दोष मानिसको मृत्यु भएको छ। मृत्यु हुनेमा बालबच्चा पनि रहेका छन्। कयौं मानिस भत्केको संरचनामा दबिएको खबर छ। कयौं घाइते छन्। मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ।
पानी बन्द
अलेप्पोमा आक्रमणको कारण पानीको सप्लाइ सिस्टम ध्वस्त भएको छ। करिब २० लाख मानिस पानी पिउनबाट बन्चित भएका छन्।
एकै परिवारको १५ को मृत्यु
आक्रमणको चपेटामा बशकतीन शहर पनि पर्यो। जहाँ एकै परिवारका १५ सदस्य मारिएका छन्। ४० भन्दा बढी भवन ध्वस्त भएको बताइएको छ। सहयोगार्थ त्यहाँ पुगेको समुह ‘ह्वाइट हेलमेट’को तीन एम्बुलेन्स सहित दुई अस्पतालमा समेत बम खसालेका छन्।
सन् २०१२ देखि सिरियाको व्यावसायिक केन्द्र रहेको अलेप्पोको पश्चिमी क्षेत्रमा सरकार र पूर्वी क्षेत्र विद्रोहीको कब्जामा छ। विद्रोहीले कब्जा गरेको क्षेत्रमा करिब साढे दुई लाख मानिस बसोबास गर्छन्। यसै कारण सेनाको आक्रमणमा ठूलो संङ्ख्यामा निर्दोष नागरिक मारिएका हुन।
पाँच वर्षको बालक जिउँदो निकालियो! यसै बिच शुक्रबार बाल अल-नैराबमा आक्रमण पश्चात भत्केको संरचनाबाट एक पाँच वर्षको बच्चा जिउँदो उद्धार गरिएको छ। आक्रमणमा बच्चाको आमा, बाबु र चारै भाई बहिनीको मृत्यु भएको छ।
के हुँदैछ सिरियामा?
सिरियामा पछिल्लो चार वर्ष देखि गृह युद्ध चल्दै छ। फ्रि सिरियन आर्मी जस्ता कयौं समुह राष्ट्रपति असदको आर्मीसंग लड्दै छ। इस्लामिक स्टटेले पनि सिरियाको कयौं हिस्सा कब्जा गरेको छ।
अमेरिका र रुस के चाहन्छ?
अमेरिका सिरियाली राष्ट्रपति बशर अल असदलाई पदच्युत गर्न चाहन्छ। रुस भने असदको खुलेर समर्थन गर्दै आएको छ। असदको सेना इस्लामिक स्टेट र पश्चिमी देशका समर्थक विद्रोहीको विरुद्ध लडिरहेको छ। रुस असदको सेनाको साथमा छ।
उता अमेरिकी अधिकारीहरु भने रुसले इस्लामिक स्टेटको गढ नभएको इलाकामा पनि आक्रमण गर्ने गरेको बताउने गरेका छन्। यी ती इलाका हुन जहाँ राष्ट्रपति असदको विरुद्ध काम गरिरहेका विद्रोही संगठन सक्रिय छन्।

No comments:
Post a Comment