Thursday, 22 September 2016

उर्जामन्त्रीले चमेलियाका चिनियाँ ठेकेदारलाई र्‍याख र्‍याख्ती पारे

उर्जामन्त्रीले चमेलियाका चिनियाँ ठेकेदारलाई र्‍याख र्‍याख्ती पारे


janardan sharma (5)
६ असोज, काठमाडौं । उर्जामन्त्री जनार्दन शर्माले चमेलिया जलविद्युत आयोजना समयमै सम्पन्न नगर्ने चाइनिज कम्पनी चाइना गेजुवालाई र्‍याखर्‍याख्ती पारेका छन् । मन्त्री शर्माले बिहीबार गेजुवाका महाप्रबन्धक चोउ स्याङझोङसहितको टोलीलाई मन्त्रालयमै बोलाएर र्‍याखर्‍याख्ती पारेका हुन् ।
गेजुवाले १० वर्षदेखि अर्थात् सन् २००७ देखि चमेलिया निर्माणको ठेक्का लिएर अहिलेसम्म सम्पन्न गर्न नसकेको भन्दै मन्त्री शर्मा रिसाएका हुन् । ‘तपाईहरुले स्थगित भएको आयोजनाको निर्माण कहिले सुरु गर्ने र कहिलेसम्ममा सम्पन्न गर्ने ? मलाई यसको समय चाहियो,’ चाइनिज ठेकेदारलाई मन्त्री शर्माले भने- ‘अब कुनै पनि बहानामा आलटाल गर्न पाइँदैन ।’
मन्त्री शर्माले आगामी असार मसान्तसम्म आयोजना सम्पन्न गर्न नेपाल विद्युत प्राधिकरण र चाइनिज ठेकेदार दुबैलाई निर्देशनसमेत दिए । तर, गेजुवाका प्रतिनिधिले विभिन्न समस्याहरु विद्यमान रहेकाले आगामी असार मसान्तसम्म आयोजना सम्पन्न गर्न निकै कठिन भएको जवाफ दिए ।
गेजुवाको जवाफप्रति मन्त्रीले तत्कालै असहमति जनाए । ‘आगामी असार मसान्तमा जुनसुकै हालतमा भए पनि आयोजना सम्पन्न गर्नुपर्छ,’ उनले भने- ‘त्यसका लागि हाम्रो तर्फबाट गर्नुपर्ने कुनै काम भए हामी गर्न तयार छौं, मलाई परिणाम चाहियो परिणाम ।’
मन्त्रीले दोहोर्‍याए- ‘आयोजना कहिले सम्पन्न गर्ने ? मलाई एक्ज्याक्ट टाइम चाहियो ।’
यस्तो आलटाल प्रवृत्तिले काम नहुने भन्दै मन्त्री शर्माले आयोजना सम्पन्न नभएसम्म नेपाल विद्युत प्राधिकरणका आयोजना प्रबन्धक र गेजुवाका आयोजना प्रबन्धक दुबैलाई फिल्ड नछाड्न निर्देशनसमेत दिए । ‘तपाईहरु दुबैजनाले आयोजना सम्पन्न नभएसम्म फिल्ड छाड्न पाउनुहुन्न,’ शर्माले भने- ‘मलाई ७/७ दिनमा प्रगति विवरण चाहिन्छ ।’
मन्त्री आक्रामक भए पनि गेजुवाका प्रतिनिधिहरु नरम देखिएका थिए । त्यसपछि मन्त्रीले प्रस्ताव गर्दै गए, उनीहरुले त्यसमा सहमति जनाउँदै गए । ‘आगामी असार मसान्तमा आयोजना सम्पन्न गर्नैपर्छ, तपाईहरु बनाउन सक्नुहुन्छ कि हुन्न ?’ मन्त्रीले फेरि प्रश्न गरे । सो प्रश्नमा गेजुवाका प्रतिनिधिले सक्छौं भन्ने जवाफ दिए ।
त्यसपछि मन्त्रीले आयोजनाका ठेकेदार र परामर्शदाताबीच त्रिपक्षीय सम्झौता गरी आयोजना निर्माण सुरु हुने र सकिने मितिसमेत तोक्न निर्देशन दिए । उनले कम्तिमा गेजुवालाई ८ देखि १० महिनाभन्दा समय दिन नसकिने पटकर्‍पटक दोहोर्‍याएका थिए ।
कुल ३० मेगावाट विद्युत उत्पादन क्षमताको सो आयोजनाको ९७ प्रतिशत निर्माण कार्य ०७१ सालमै सकिएको थियो । तर, आयोजनाको सुरुङ खुम्चिए (स्कजिङ) पछि गेजुवाले थप पैसा माग्दै आएको थियो । नेपाल विद्युत प्राधिकरणले थप रकम दिन नसकिने बताउँदै आएको थियो । सोही विवादका कारण आयोजना प्रभावित हुँदै आएको थियो ।
भूकम्पका कारणले काम गर्न नपाएको चिनियाँ कम्पनीका अधिकारीहरुले तर्क गर्दै आएका छन् ।
चमेलिया नेपालको सबैभन्दा महंगो लागतको आयोजना बनेको छ । सामान्यतया एक मेगावाट विद्युत उत्पादन गर्न १८ करोड रुपैयाँ लाग्ने सरकारी प्रतिवेदन छ । तर, चमेलियाबाट उत्पादन हुने विद्युतको प्रति मेगाावट लागत ५४ करोड रुपैयाँभन्दा बढी भइसकेको छ ।
सात दिनमा प्रतिवेदन बुझाउने प्रतिवद्धतामा हस्ताक्षर
उर्जामन्त्री शर्मा आक्रामकरुपमा प्रस्तुत भए पछि चाइनिज ठेकेदार आगामी ७ दिनभित्र आयोजना सम्पन्न गर्ने मिति नै तोकेर सरकारलाई रिपोर्ट बुझाउन सहमत भएको छ ।
गेजुवाका जनरल म्यानेजर र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई साक्षी राखेर मन्त्री गेजुवाका प्रोजेक्ट म्यानेजर र नेपाल विद्युत प्राधिकरणका प्रोजेक्ट म्यानेजरबीच ५ बुँदे प्रतिवद्धतापत्रमा हस्ताक्षर भएको छ ।
प्रतिवद्धतामा आगामी ७ दिनमा आयोजनाको निर्माण सुरु हुने र सम्पन्न हुने मिति तय गरी उर्जा मन्त्रालयमा प्रतिवेदन पठाउनुपर्ने हुन्छ । त्यसपछि, आयोजनाले ७/७ दिनको कार्यप्रगति र हरेक हप्ताको योजना मन्त्रालयमा पठाउनुपर्ने छ ।
त्यसैगरी, असार मसान्तसम्ममा आयोजनाको निर्माण कार्य सक्ने अर्को प्रतिवद्धता छ । आयोजना सम्पन्न नभएसम्म दुबै पक्षका आयोजना प्रमुखले स्थल नछाड्ने पनि सहमति भएको छ । त्यस्तै, त्यसबीचमा आइपर्ने समस्या सरकारले समाधान गर्ने उल्लेख छ ।

No comments:

Post a Comment