चितवन (मुग्लिन), असोज १० – त्रिशुली नदीमा जीप पल्टिँदा आइतबारदेखि
हराइरहेका पूर्वमन्त्री माधवप्रसाद घिमिरेको अवस्था अझै थाहा हुन सकेको छैन
। सोमबार बिहानैदेखि खोजीको काम भइरहेको छ ।
चितवनका
प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, प्रहरी प्रमुख एसपी वसन्त कुँवर
आइतबारदेखि नै घटनास्थलमा हुनुहुन्छ । सेना, प्रहरी र सशस्त्र प्रहरीले
डुंगामार्फत खोजी गरिरहेका छन् । खोजीको क्रममा घिमिरेको झोला भेटिएको छ ।
दुर्घटनास्थल निकै साँघुरो, अप्ठेरो र खोंच भएका कारण खोजी कार्यमा समस्या
भएको प्रहरीले जनाएको छ । मुग्लिन र कुरिनटारबीचको यो ठाउँमा केही दिनअघि
एउटा ट्रक पनि खसेको थियो ।
आइतबार
नदीमा जीप खस्दा पूर्व गृहमन्त्री घिमिरे सहित उहाँका भाइहरु मोहन घिमिरे र
प्रकाश घिमिरे बेपत्ता हुनु भएको छ । दुर्घटनामा घिमिरेकी आमा चैतन्य
कुमारी घिमिरे, आफन्त नारायण प्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरीका सई
रामचन्द्र कार्कीको ज्यान गएको छ । गम्भीर घाइते चालक विष्णु राईको भरतपुर
अस्पतालमा उपचार भइरहेको छ । मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्कने क्रममा
बा ९ च १५३१ नम्बरको जीप चितवनको मुग्लिन र कुरिनटारको बिचमा आइतबार
दुर्घटना भएको हो । चालक विष्णुलाई पालो दिन भन्दै तनहुँको दमौलीबाट गाडी
माधव घिमिरे आफैले हाक्नु भएको थियो । २०१७ सालमा पाल्पामा जन्मिएका घिमिरे
खिलराज रेग्मी अध्यक्ष रहेको अन्तरिम चुनावी सरकारमा गृहमन्त्री तथा
परराष्ट्र मन्त्री हुनुहुन्थ्यो ।
No comments:
Post a Comment