काठमाडौं, १४ असोज । भारत प्रशासित
काश्मिर क्षेत्रमा तनाव बढ्दै गएपछि पाकिस्तानको सीमा नजिक रहेका भारतीय
नागरिकले गाउँ छोड्न थालेका छन् ।भारतले सर्जिकल स्ट्राइक्स सुरु गरेको बताएको एक दिनपछि धेरै गाउँका मानिस गाउँ छोडेर हिड्न थालेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । काश्मिरको छिमेकी प्रान्त पन्जाबमा पनि सीमा क्षेत्रका बासिन्दा अन्तै सर्न थालेका छन् ।
यसैबिच, काश्मिरको विषयमा छलफल गर्न पाकिस्तानले राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएको छ । भारत पाकिस्तान नियन्त्रण रेखामा भारतले गरेको सैन्य कारबाही अर्थात सर्जिकल स्ट्राइक्सपछि दुवै देशबिच बढेको तनावलाई मध्यनजर गर्दै पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले मन्त्रीमण्डल र राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएको बिबिसीले जनाएको छ ।
शुक्रबार केन्द्रीय मन्त्रीमण्डलको बैठक बोलाइएको छ भने बैठकमा काश्मिरको स्थितिसँग जोडिएका एजेण्डा प्रमुख रहने समाचारमा उल्लेख छ । यस्तै, त्यहाँको प्रधानमन्त्री कार्यालयले जारी गरेको वक्तव्यमा काश्मिरमा भारतको अत्याचारका बारेमा छलफल गर्न आगामी मंगलबार राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाइएको उल्लेख छ ।
सुरक्षा समितिको बैठकमा चारवटै प्रान्तका मुख्यमन्त्रीलाई बोलाइएको छ । यस्तै, आगामी बुधबारनै संसदको संयुक्त सत्र पनि बोलाइएको छ । भारतले गएको बुधबार राति नियन्त्रण रेखामा सर्जिकल स्ट्राइक्स गरेको दाबी गरेपनि पाकिस्तानले त्यसको खण्डन गरेको छ । पाकिस्तानी भूमिमा आएर कुनै पनि कारबाही गरे त्यसको शसक्त प्रतिकार गर्ने उसले चेतावनी दिएको छ ।

No comments:
Post a Comment