नेपाल वायुसेवा निगमको दिल्लीबाट काठमाडौं
आउँदै गरेको २०५ उडान नम्बरको लुम्बिनी एयरबस काठमाडौं बिमानस्थलमा
आकस्मिक अवतरण गरेको छ ।बिमानमा रहेका चालक दलका सदस्यसहितका सबै १ सय ५५ यात्रु सुरक्षित रहेका छन् । काठमाडौं विमानस्थल नजिकैको २५ हजार फिटमा उडान गरिहेको यो जहाजको ककपिटमा धुवाँ देखिएपछि आकस्मिक अवतरण गरिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।
उनका अनुसार जहाज आकस्मिक आवतरण गरेकोले जहाज तथा विमानस्थलको निरीक्षणका लागि ३ बजेर ३९ मिनेटदेखि ३ बजेर ५६ मिनेटसम्म विमानस्थल बन्द गरिएको थियो । निगमको यो जहाज पूर्ण क्षमतामा यात्रु बोकेर दिल्लीबाट काठमाडौं आएको थियो ।
यो जहाज दिउँसो ३ बजेर २७ मिनेटमा आकस्मिक अवतरण गरेको थियो । जहाज आकस्मिक अवतरण गरेका कारण विमानस्थल कार्यालयले संभावित जोखिम न्युनिकरणका लागि दमकलसहितका सम्पूर्ण आकस्मिक उद्धारका सामग्री तयारी अवस्थामा राखेको छ ।
जहाज सुरक्षित अवतरण गरेकोले यात्रु सुरक्षित रहेको र विमानस्थलको अवस्था पनि सामान्य रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

No comments:
Post a Comment