
संयुक्त राष्ट्रसंघ साधारण सभामा सहभागी भएर फर्कदै गर्दा शरिफले न्यूयोर्कमा भने,’उरी आक्रमण कश्मिरमा भइरहेको हिंसाको प्रतिक्रिया हुन सक्दछ। पछिल्लो दुई महिनामा त्यहाँ मारिएकाहरुको आफन्त तथा सम्बन्धी आघातमा छन्, रिसाएका छन्।’
अनुसन्धान नै नगरी बिना कुनै प्रमाण हतासमा भारतले पाकिस्तानलाई दोष लगाएको उनले बताए। भारतको यो व्यवहार निकै गैरजिम्मेवार तवरले देखिएको उनले बताए।
‘उरी आक्रमणको केही घण्टा पछि नै बिना कुनै अनुसन्धान भारतले पाकिस्तानलाई दोष दिन कसरी सक्छ?’, उनले प्रश्न गरे।
जम्मु र कश्मिरको मुद्धा किनारा नलगाई सो क्षेत्रमा चिरशान्ति कायम गर्ने सम्भावना समेत नरहेको उनले दाबी गरे।
उरी आक्रमणमा भारतीय सेनाका १८ जवानको मृत्यु भएको थियो। जैस-इ-मोहम्मद नामको आतंकवादी गुटले सो आक्रमण गराएको अनुमान गरिएको छ।
आक्रमण पश्चात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटना घटाउनेलाई कारवाहीको दायरामा ल्याउने बताएका थिए। यो घटना पश्चात भारत-पाकिस्तानको सम्बन्ध निकै चिसिएको छ भने संयुक्त राष्ट्रसंघको साधारण सभामा पनि एक अर्का विरुद्ध खनिएका छन्।

No comments:
Post a Comment