चितवन। बाघ, गैँडाको मुख्य बासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्जले २० अर्ना र २५ वटा बाह्रसिङ्गे ल्याउने गरी तयारी थालेको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले कोसीटप्पु वन्यजन्तु आरक्षबाट अर्ना र शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट संरक्षित वन्यजन्तु बाह्रसिङ्गे ल्याउने गरी तयारी थालेको जानकारी दिनुभयो । अर्ना ल्याउने विषयमा प्रमुख कँडेलसहितको टोलीले कोसीटप्पुका अधिकारी तथा स्थानीयवासीसँग दुई दिनअघि छलफल गरेर समेत आउनुभएको छ ।
चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पदमपुर क्षेत्रमा अर्ना र बाह्रसिङ्गे राख्न ‘इक्लोजर’ निर्माणका लागि प्रक्रिया थालिसकिएको बताउनुभयो । उहाँका अनुसार बाघ पस्न नसक्ने सुरक्षित क्षेत्रलाई इन्क्लोजर भनिन्छ । करिब ३० हेक्टर क्षेत्रफललाई सुरक्षित बनाएपछि मात्रै ल्याइने निकुञ्जले जनाएको छ ।
हरियो वन कार्यक्रमले तार, जालीलगायत आवश्यक सामग्री खरिदको काम थालेको र निकुञ्जले अन्य आवश्यक काम गरिरहेको समेत उहाँले जानकारी दिनुभयो । “चितवनबाट वार्डेन आउनुभयो, हामीले स्थलगत अवलोकन पनि गर्यौँ, स्थानिय समुदायसँग छलफल पनि भयो”, कोसीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले भन्नुभयो, “कसरी लैजान सकिन्छ भन्ने विषयमा प्राविधिकहरुसँग समेत छलफल भएको छ ।”
No comments:
Post a Comment